२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु

कास्की। कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण गरिएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले परीक्षणस्वरूप विद्युत् उत्पादन सुरु गरेको छ।सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजना २०७८ मङ्सिरदेखि निर्माण थालिएको थियो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आवश्यक निरीक्षण र परीक्षण सम्पन्न गरेपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा जोडिएको कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिए। उनका अनुसार आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनुका साथै आयोजना र उपकरणको प्राविधिक परीक्षणसमेत गरिनेछ।

परीक्षण सफल भएपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ।आयोजनाले गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखे पनि प्रसारण लाइन निर्माणका क्रममा वन क्षेत्रको स्वीकृति प्राप्त गर्न ढिलाइ हुँदा समयमै सञ्चालनमा आउन सकेन। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँचमध्ये तीन टावर वन क्षेत्रमा परेकाले आवश्यक अनुमति प्रक्रियाले समय लिएको निर्देशक बरालले बताए। आयोजनाको बाँध पोखरा–३३ स्थित तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट करिब तीन हजार १०६ मिटर लामो सुरुङमार्गमार्फत पानी तल्लो पुँडीटारमा रहेको विद्युत्गृहमा पुर्‍याइन्छ। विद्युत्गृहमा ११–११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएका छन्।

करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लगानी रहेको यस आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० जारी गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ। सेती नदीमा पछिल्ला वर्षहरूमा जलविद्युत् क्षेत्रमा लगानी बढ्दै गएको छ। गत वर्षदेखि २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना व्यावसायिक उत्पादनमा आइसकेको छ भने नदीमा आधारित अन्य आधा दर्जनभन्दा बढी आयोजना निर्माण तथा प्रारम्भिक विकास चरणमा रहेका छन्।

Back To Top
Modern Footer Design