काठमाडौं। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ औसत अवस्थामै रहेकाले देशभर यसको प्रभाव कायम छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ। पहाडी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान, साथै मधेस र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ।
त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा, साथै कर्णालीका पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
