गणेश नेपाली घटनामा राईको छानबिन माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि भएको निधनको घटनाबारे निष्पक्ष र गम्भीर छानबिन गर्न सरकारसँग माग गरेका छन्।

उनले युवालाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाउने परिस्थिति किन सिर्जना भयो भन्ने विषयमा सरकारले जिम्मेवार ढंगले अनुसन्धान गर्नुपर्ने बताए। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले गणेश नेपालीको घटनालाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै यसको वास्तविक कारण पत्ता लगाई आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे।

त्यसैगरी उनले पठाओलगायत राइड–सेयरिङ सेवामा आबद्ध श्रमिकहरूको समस्याप्रति पनि सरकारको ध्यानाकर्षण गराए। दिनभर मेहनत गरेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गर्ने श्रमिकमाथि बारम्बार जरिवाना लगाउनु न्यायोचित नभएको उनको भनाइ थियो। राईले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन आवश्यक भए पनि त्यसअघि सडक पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने बताए। काठमाडौंका सडक र गल्लीहरूको वास्तविक अवस्था मन्त्रीहरूले स्वयं स्थलगत रूपमा अवलोकन गर्नुपर्ने सुझाव दिँदै पर्याप्त पूर्वाधारबिना कानुनको कडाइ मात्र गर्नु उचित नहुने धारणा राखे।

उनले ग्रामीण क्षेत्रमा रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभावका कारण युवाहरू राजधानी केन्द्रित हुन बाध्य भएको उल्लेख गर्दै दीर्घकालीन समाधानका लागि सरकारले गाउँमै अवसर सिर्जना गर्नुपर्ने बताए। सांसद राईले गणेश नेपालीको घटना एक व्यक्तिको मात्रै नभई संघर्षरत हजारौं युवाको पीडा र निराशाको प्रतीक भएको उल्लेख गर्दै श्रमिकको न्यून आम्दानी र राज्यका उच्च पदाधिकारीहरूको खर्चबीच देखिएको असमानताप्रति पनि प्रश्न उठाए।

Back To Top
Modern Footer Design