काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकार लोकतान्त्रिक मूल्यमान्यताभन्दा बाहिर जान खोजेको आरोप लगाउँदै संविधानको मर्मअनुसार शासन सञ्चालन गर्न आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नागरिकका आवाज र प्रश्नलाई दबाउने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुने बताए। भागवत पुराणमा वर्णित हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै उनले सत्य बोल्ने र प्रश्न गर्ने अधिकारमाथि अंकुश लगाउने शासन अन्ततः असफल हुने टिप्पणी गरे।हिरण्यकश्यपले आफूलाई नै सर्वशक्तिमान् ठानेका थिए। उनले आफूबाहेक अरू कसैलाई स्वीकार गरेनन्। तर जब प्रह्लादले सत्य बोले र प्रश्न गरे, त्यसलाई नै अपराध मानियो,’ उनले भने।
सांसद राईले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आवाज उठाएका युवाको प्रसंग जोड्दै अहिले पनि प्रश्न गर्ने अधिकारमाथि नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए। प्रश्न गर्ने नागरिकलाई निरुत्साहित गर्ने कुनै पनि कदम लोकतान्त्रिक अभ्यासविपरीत हुने उनको भनाइ थियो। उनले मुगुका २५ वर्षीय राइड–सेयरिङ चालक गणेश नेपालीको मृत्यु घटनापछि सरकारले आत्मसमीक्षा गर्नुपर्नेमा उल्टै प्रश्न उठाउनेहरूलाई निशाना बनाएको आरोप लगाए। यस्तो घटनापछि प्रतिपक्ष, सञ्चारमाध्यम र नागरिक समाजले उठाएका प्रश्नलाई सरकारले सहज रूपमा लिनुपर्ने उनको धारणा थियो।
गृहमन्त्रीले संसद्मा दिएको जवाफका क्रममा सांसदहरूलाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै राईले त्यसप्रति असन्तुष्टि व्यक्त गरे। उनले १८२ सिटको बहुमतले सरकारलाई संविधानभन्दा माथि उठ्ने वा नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गर्ने छुट नदिने स्पष्ट पारे। बहुमतको अर्थ जनताको सेवा र प्रतिनिधित्व भएको उल्लेख गर्दै उनले त्यसलाई संविधान उल्लंघनको आधार बनाउन नमिल्ने बताए।
राईले राज्यका निकायहरू सत्तारूढ दलको प्रभावमा पर्न थालेको दाबी गर्दै प्रहरी प्रशासन अनौपचारिक शक्तिको निर्देशनमा सञ्चालन हुन थाले राज्यका संस्थाप्रतिको जनविश्वास कमजोर हुने चेतावनी दिए। सरकारलाई निरंकुश सोच त्यागेर नागरिकको अधिकार, लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै अघि बढ्न उनले आग्रह गरे। आफू किसान परिवारबाट आएको उल्लेख गर्दै उनले लोकतन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता पनि व्यक्त गरे।
