देशभर मनसुनी प्रभाव कायम, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदरभन्दा केही उत्तरतर्फ रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा लुम्बिनी र मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने अनुमान गरिएको छ भने कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

पूर्वानुमानअनुसार हिमाली क्षेत्रका केही स्थान र पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका अधिकांश भागमा बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Back To Top
Modern Footer Design