थाईल्यान्डमा १४ वर्षीय विद्यार्थीद्वारा गोलीकाण्ड, शिक्षकसहित ७ जनाको मृत्यु

काठमाडौँ । थाईल्यान्डको राजधानी ब्याङ्ककको उत्तरी क्षेत्रमा एक १४ वर्षीय विद्यार्थीले विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा शिक्षकसहित सात जनाको मृत्यु भएको छ। घटनामा ती विद्यार्थीका आफ्नै हजुरबुबा र हजुरआमाको पनि ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विद्यार्थीले विद्यालय जानुअघि घरमै आफ्ना हजुरबुबा र हजुरआमाको हत्या गरेका थिए। त्यसपछि विद्यालय पुगेर उनले शिक्षकहरूसहित अन्य व्यक्तिमाथि गोली प्रहार गरेका थिए। घटनापछि ती विद्यार्थीले आफैँमाथि पनि गोली प्रहार गरेका थिए। घटनामा अन्य १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार विद्यार्थीले आफ्ना हजुरबुबाको नाममा दर्ता रहेको हाते पेस्तोल प्रयोग गरी २६ राउन्ड गोली चलाएका थिए। गोलीकाण्डपछि घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल लगिँदै गर्दा विद्यालयका अन्य विद्यार्थीहरू सुरक्षित रूपमा बाहिर निकालिएका थिए। घटनापछि भावुक बनेका शिक्षकहरू एकअर्कालाई अँगालो हाल्दै रोइरहेको दृश्य देखिएको थियो। घटनाप्रति थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुल ले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

Back To Top
Modern Footer Design