पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइयो १०२ शव

कास्की । त्रिशूली र नारायणी नदीका विभिन्न क्षेत्रमा फेला परेका १०२ शव पहिचान तथा आवश्यक परीक्षणका लागि पोखरा ल्याइएको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा धादिङ, गोरखा, तनहुँ तथा पूर्वी नवलपरासीलगायत जिल्लामा शव भेटिएका थिए। सम्बन्धित जिल्लामा शवको व्यवस्थापन तथा परीक्षण गर्ने पर्याप्त व्यवस्था नभएपछि ती शव पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए।

उनका अनुसार बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव पोखरा ल्याइएको हो। ती शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ। तनहुँका विभिन्न स्थानमा फेला परेका नौ शव भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरेपछि मणिपाल शिक्षण अस्पताल पठाइएको प्रशासनले जनाएको छ। पोखराका सरकारी तथा निजी अस्पतालमा गरी हाल करिब ८८ शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको बताइएको छ।प्रशासनले शवको परीक्षण तथा पहिचान प्रक्रिया अघि बढाएर पहिचान हुन नसकेका शवबारे सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ।

Back To Top
Modern Footer Design