काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियामा जारी प्रतियोगितामा लगातार दुई खेल जितेको नेपाल तेस्रो खेलमा पनि जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदैछ। नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। नेपालले यसअघि बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६ विकेटले पराजित गरिसकेको छ। दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ।
यता साउदी अरेबियाले तीन खेलमध्ये दुईमा हार र एकमा जित निकाल्दै २ अंक जोडेको छ। टोली अहिले समूहको पुछारमा रहेको छ। सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित नेपाल प्रतियोगितामा सहभागी भएको हो। १० टोली सहभागी प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’मा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्।
नेपालले समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ। साउदी अरेबियासँग यसअघि खेलेका दुई खेलमध्ये नेपालले एकमा जित हात पारेको छ भने अर्को खेल रद्द भएको थियो। ५० ओभरको क्रिकेटमा हङकङसँग नेपालले चार खेल खेलेकोमा एकमा जित तथा दुईमा हार बेहोरेको छ। प्रतियोगिताको दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। उपाधि जित्ने टोलीले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ। नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ। सिधै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन नेपालले साउदीविरुद्ध जित निकाल्नुपर्नेछ। आजको खेलमा पराजित भएमा भने अन्तिम खेलको नतिजा र रनरेटको समीकरणमा भर पर्नुपर्ने अवस्था आउन सक्छ।
