अमेरिकाले आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा नजान आग्रह गर्‍यो

अमेरिका । संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा अद्यावधिक गरेको यात्रा सुझावमा नेपाललाई ‘लेभल २’ अर्थात् बढी सतर्कता अपनाउनुपर्ने श्रेणीमा राख्दै रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘लेभल ४’ अर्थात् यात्रा नगर्नुहोस् श्रेणीमा राखेको हो। अमेरिकी विदेश मन्त्रालयले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र र नेपाल–चीन सीमा नाकातर्फ यात्रा नगर्न आफ्ना नागरिकलाई सुझाव दिएको छ। हालैको बाढी र पहिरोका कारण उक्त क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको, यातायात तथा सञ्चार सेवा प्रभावित भएको र खोज तथा उद्धारसँगै पुनःस्थापनाका काम अझै जारी रहेकाले जोखिम उच्च रहेको अमेरिकी पक्षले जनाएको छ।

यात्रा सुझावमा प्रभावित क्षेत्रमा पुनः बाढी र पहिरो आउन सक्ने जोखिमसमेत औंल्याइएको छ। भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका क्षेत्रलाई समेत जोखिमयुक्त क्षेत्रका रूपमा उल्लेख गर्दै नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो स्थानबाट टाढा रहन यात्रुहरूलाई आग्रह गरिएको छ। त्यस्तै, नेपाली अधिकारीहरूले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न अमेरिकी नागरिकलाई भनिएको छ। विपद् प्रभावित क्षेत्रमा हराइरहेका आफन्त वा अन्य व्यक्तिको खोजी गर्न भन्दै आफैं जोखिमपूर्ण क्षेत्रमा प्रवेश नगर्न पनि अमेरिकी विदेश मन्त्रालयले चेतावनी दिएको छ। अमेरिकी यात्रा सुझावमा नेपाल भूकम्प, बाढी र पहिरोजस्ता प्राकृतिक विपद्को जोखिममा रहेको मुलुकका रूपमा उल्लेख गरिएको छ। विशेषगरी मनसुनको समयमा भारी वर्षाका कारण अचानक बाढी र पहिरो आउन सक्ने तथा यसले सडक, पुल, भवन र अन्य पूर्वाधारमा क्षति पुर्‍याएर आपत्कालीन उद्धार तथा सहायता प्राप्त गर्न कठिन हुन सक्ने जनाइएको छ।

नेपालको स्वास्थ्य तथा आकस्मिक उपचार प्रणाली पनि सीमित क्षमताको रहेको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ। काठमाडौंका स्वास्थ्य संस्था अन्य क्षेत्रको तुलनामा सुविधासम्पन्न भए पनि अस्पतालमा भीडभाड, आवश्यक उपकरण तथा औषधिको अभाव र उपचारअघि नै शुल्क मागिन सक्ने अवस्थाबारे पनि नागरिकलाई सचेत गराइएको छ। नेपाल भ्रमण गर्ने निर्णय गरेका आफ्ना नागरिकलाई आवश्यक औषधि साथमा बोक्न, यात्रा स्वास्थ्य बीमा गर्न तथा स्थानीय सञ्चारमाध्यमबाट मौसम र विपद्सम्बन्धी पछिल्ला सूचना नियमित रूपमा लिन अमेरिकाले सुझाव दिएको छ। परिस्थितिअनुसार यात्रा योजना परिवर्तन गर्न पनि आग्रह गरिएको छ।

Back To Top
Modern Footer Design