काठमाडौँ । आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी । वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा पवित्र कुश भित्र्याउँदै तथा बाबुको सम्मान गर्दै यो पर्व मनाउँदैछन्। यही दिनलाई ‘बाबुको मुख हेर्ने दिन’का रूपमा पनि मनाउने गरिन्छ।
कुशेऔँसीमा ब्राह्मणद्वारा विधिपूर्वक पूजा गरी उखेलेर घरमा ल्याइएको कुशलाई वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार आजको दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ भने अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्न मिल्ने विश्वास छ। सनातन परम्परामा कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ। पवित्र कुशको उत्पत्तिसम्बन्धी विभिन्न धार्मिक विश्वाससमेत रहँदै आएको छ। घरमा राखिएको कुश वर्षभर गरिने पूजा, धार्मिक अनुष्ठान तथा पितृकार्यमा प्रयोग गरिन्छ।
बाबुलाई सम्मान गर्ने परम्परा
कुशेऔँसीलाई बाबुप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिनका रूपमा पनि लिइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने चलन छ। बाबु बितिसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर दिवङ्गत पिताको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्। ‘पितृदेवो भव’ भन्ने मान्यताअनुसार जीवित बाबुलाई श्रद्धापूर्वक भोजन गराएर आशीर्वाद लिनु तथा दिवङ्गत बाबुको स्मरणमा धार्मिक कर्म गर्नु पुण्यदायी मानिन्छ।
गोकर्णेश्वरमा विशेष मेला
कुशेऔँसीका अवसरमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्ने गर्छ। उत्तरगया भनेर समेत चिनिने गोकर्णेश्वरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको भीड लाग्ने गर्दछ। यही कारण आजको औँसीलाई ‘गोकर्णे औँसी’का नामले पनि चिनिन्छ। गोकर्णेश्वर मन्दिर क्षेत्रमा मेलाका लागि आवश्यक तयारी गरिएको जनाइएको छ। यस्तै, रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावतीमा पनि कुशेऔँसीका दिन पितृको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गर्ने परम्परा छ। तर यस वर्ष भोटेकोशी बाढीका कारण वेत्रावतीमा मेला सञ्चालन हुने–नहुने विषय भने निश्चित भइसकेको छैन। धार्मिक ग्रन्थहरूमा कुशेऔँसीमा गरिएको दान, तर्पण तथा पितृकार्यबाट पुण्य प्राप्त हुने उल्लेख पाइन्छ। त्यसैले यो पर्वलाई बाबुको सम्मानसँगै दिवङ्गत पितृको सम्झना र श्रद्धा प्रकट गर्ने महत्वपूर्ण दिनका रूपमा मनाइँदै आएको छ।
