हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता

सोलुखुम्बु। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पर्ने हुङ्गा खोलामा पहिरो खसेर करिब १०० मिटर लामो ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

शुक्रबार बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ मा रहेको गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ। करिब ३५ मिटर अग्लो पहिरो खोलामा खस्दा त्यसबाट करिब १०० मिटर लामो र १५ मिटर अग्लो अस्थायी ड्याम बनेको हो। पहिरोका कारण खोलाको पानी थुनिएपछि आसपासका बस्ती तथा जलविद्युत् आयोजनामा जोखिम बढेको भन्दै प्रहरीले सम्बन्धित क्षेत्रलाई सतर्क गराएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरीका अनुसार हुङ्गा खोलाको तटीय क्षेत्रमा रहेका बस्तीका साथै गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोशी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडअन्तर्गतका दुई जलविद्युत् आयोजनालाई घटनाबारे जानकारी गराइएको छ। ती आयोजनामा कार्यरत कर्मचारी, कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानमा सार्नसमेत भनिएको छ।

हुङ्गा खोलामा थुनिएको पानी महाकुलुङ गाउँपालिका–२ को बोदेल हुँदै सोताङ, थुलुङ दूधकोशी र नेचासल्यान गाउँपालिका क्षेत्र पार गरेर दूधकोशी नदीमा मिसिन्छ। त्यसपछि दूधकोशी नदी खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने गर्दछ। बिहान करिब ९ः१० बजे पहिरोले बनाएको ड्याममा पानीको सतह बढेपछि पानी बाहिर निस्कन थालेको प्रहरीले जनाएको छ। यद्यपि ड्यामको अवस्था र पानीको बहावमा थप परिवर्तन हुन सक्ने भएकाले जोखिम कायमै रहेको बताइएको छ।सम्भावित जोखिमलाई ध्यानमा राख्दै हुङ्गा खोला तथा दूधकोशी नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रहरीले घटनास्थलको अवस्थाबारे थप विवरण संकलन तथा निगरानी गरिरहेको जनाएको छ।

Back To Top
Modern Footer Design