काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्स र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच सिड्नीमा शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार भएको भेटमा नेपालमा हालै आएको प्राकृतिक विपद्, उद्धार तथा पुनःस्थापनाका प्रयास र दुई पक्षबीचको सहकार्यका विषयमा छलफल भएको हो। भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले विपद्पछिको पुनर्लाभ र पुनर्निर्माणका काममा नेपाललाई आवश्यक सहयोग गर्न न्यु साउथ वेल्स सरकार तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
परराष्ट्रमन्त्री खनालले विपद्का बेला नेपालप्रति सहानुभूति, ऐक्यबद्धता र सहयोग देखाएकोमा न्यु साउथ वेल्सका जनता तथा त्यहाँ रहेका नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्। उनले संकटको समयमा प्राप्त सहयोगले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताएका छन्। त्यस अवसरमा मन्त्री खनालले विपद्मा परी बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको खोजीलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको जानकारी गराउँदै खोजी कार्यप्रति सरकार गम्भीर रहेको आश्वस्त पारेका छन्।
भेटमा नेपाल र न्यु साउथ वेल्सबीच व्यापार, ऊर्जा, खानी, पूर्वाधार विकास तथा प्राविधिक र व्यावसायिक शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। यस भेटलाई दुई पक्षबीचको आपसी सम्बन्ध र सहयोगलाई थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।
