एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। प्रतियोगिताको पहिलो दिन एक खेल भएकोमा दोस्रो दिनदेखि खेलतालिका व्यस्त बन्न लागेको हो।

आजको पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको प्रतिस्पर्धा दिउँसो १२ः३० बजे सुरु हुनेछ। त्यसैगरी, आजै साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दोस्रो खेल हुनेछ। सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

चितवन र विराटनगरको प्रतिस्पर्धा

कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, विवेक यादव, हसन अली र उसामा मीरलगायतका खेलाडी छन्। यता सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, नरेन साउद, सुजन थपलिया, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकालगायतका खेलाडी छन्। दुवै टोली बलिया खेलाडीका साथ मैदान उत्रने भएकाले पहिलो खेलमा जित निकाल्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन्।

जनकपुर र कर्णालीबीच साँझको भिडन्त

आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरको टोलीमा कुशल परेरा, ललित राजवंशी, अनिल साह, मयन यादव, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमदलगायतका खेलाडी छन्। त्यस्तै, सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, दीपक डुम्रे, शुभ कंसाकार र दिवान पुनलगायतका खेलाडी समावेश छन्।

दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा रहनेछन्। सोमबारदेखि सुरु भएको एनपीएलको फाइनल खेल आगामी मङ्सिर ५ गते हुने तालिका छ। प्रतियोगितामा सहभागी टोलीबीचको प्रतिस्पर्धाले आगामी दिनमा लिगको समीकरण थप रोचक बनाउने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design