काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा देशभर आंशिक बदली हुने अनुमान गरिएको छ। महाशाखाले बुधबार र बिहीबार देशका विभिन्न भूभागमा बदलीसँगै वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने जनाएको छ।
बुधबारदेखि मौसम थप बदली हुने
बुधबार देशभर सामान्यतया बादल लाग्ने पूर्वानुमान छ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। बुधबार राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबार धेरै प्रदेशमा वर्षा र हिमपातको सम्भावना
बिहीबार देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ। लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै यात्रा तथा बाहिरी गतिविधिको योजना बनाउँदा पूर्वानुमानमा ध्यान दिन र सम्भावित वर्षा तथा हिमपातबाट जोगिन आवश्यक सावधानी अपनाउन उचित हुनेछ।
