भारी वर्षा र हिमपहिरोको खतरा बढ्यो, उच्च हिमाली क्षेत्रमा जाने योजना बनाउँदै हुनुहुन्छ?

काठमाडौं । देशका विभिन्न क्षेत्रमा भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपात र हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै पर्यटन विभागले पर्यटक तथा पर्वतारोहीलाई सतर्क रहन आग्रह गरेको छ।

विभागका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। प्रतिकूल मौसमका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी तथा हिमपहिरोसमेत जान सक्ने पूर्वानुमान गरिएको छ। मौसमको अवस्था प्रतिकूल हुन सक्ने भएकाले यस अवधिमा उच्च हिमाली क्षेत्रमा नजान विभागले अनुरोध गरेको छ। त्यहाँ पुगिसकेका पदयात्री तथा पर्वतारोहीलाई पनि विशेष सावधानी अपनाउन र आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी सूचनाका आधारमा मात्रै यात्रा योजना बनाउन आग्रह गरिएको छ।

त्यसैगरी, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौं र पोखराका स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या ‘एक्युट माउन्टेन सिकनेस’ को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन सम्बन्धित निकायलाई विभागले अपिल गरेको छ। त्यसैले, हिमाली क्षेत्रमा पदयात्रा वा आरोहणको योजना बनाउनुभएका व्यक्तिले मौसमको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा तय गर्नु उपयुक्त हुनेछ।

Back To Top
Modern Footer Design