काठमाडौँ । एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट आर्थिक तथा सामाजिक क्षेत्रमा ठूला परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा भए पनि त्यो पूरा हुन नसकेको टिप्पणी गरे। उनले अर्थमन्त्रीप्रति सुरुमा उच्च अपेक्षा रहे पनि बजेट प्रस्तुत भएपछि निराशा पैदा भएको उल्लेख गरे। महरका अनुसार बजेटमा समेटिएका विषयवस्तु मात्र नभई अर्थमन्त्रीको प्रस्तुत गर्ने शैली र व्यवहार पनि आपत्तिजनक र अस्वाभाविक देखिएको छ।
उनले अर्थमन्त्रीले प्रतिपक्षप्रति हेपाहा र अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै यस्तो शैलीले मन्त्रीको विद्वतामाथि नै प्रश्न उठाएको दाबी गरे। सांसद महरले बजेटले दूरदराजका क्षेत्र, गरिब तथा विपन्न वर्ग, महिला, बालबालिका, दलित र पछाडि पारिएका समुदायका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको भन्दै यसलाई विभेदकारी र गैरजिम्मेवार बजेटको संज्ञा दिए।
