काठमाडौं । देशभरको मौसममा विभिन्न प्रणालीहरूको प्रभाव कायम रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा तातो दिनको अवस्था रहने मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव देखिएको छ। आज दिउँसो देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम प्रायः सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा समेत वर्षा र हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। त्यसैगरी कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तापक्रम बढ्ने र तातो दिनको अनुभव हुन सक्ने मौसमविद्हरूले बताएका छन्।
आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली कायम रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम सफा रहने अनुमान छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसमविद्हरूले वर्षा, चट्याङ तथा तातो मौसमबाट हुन सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
