काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को तलब, भत्ता तथा अन्य सुविधालाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ।
बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको ‘प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन–२०८३’ अनुसार अब सिइओ नियुक्ति गर्दा नै उनको पारिश्रमिक र सुविधाबारे स्पष्ट सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार मार्गदर्शन सबै वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई लक्षित गरेर जारी गरिएको हो। यसमा ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था समेटिएका छन्।
मार्गदर्शनले सिइओ नियुक्तिका क्रममा सञ्चालक समितिले वार्षिक तलब, विभिन्न भत्ता, सेवा–सुविधा र अन्य लाभबारे सम्झौतापत्रमै स्पष्ट उल्लेख गर्नुपर्ने प्रावधान राखेको छ। यसले भविष्यमा पारिश्रमिकसम्बन्धी विवाद कम गर्न र संस्थागत सुशासनलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। राष्ट्र बैंकले बैंकिङ क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सुशासन अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त मार्गदर्शन लागू गरेको जनाएको छ।
