चितवन। नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमतलाई राष्ट्रिय हित, लोकतन्त्र सुदृढीकरण र जनताको पक्षमा उपयोग गर्नुपर्ने बताएका छन्।
चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले महाधिवेशनलाई नेतृत्व चयनसँगै स्पष्ट नीति र वैचारिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताए। उनले रास्वपा अहिले राजनीतिक रूपान्तरणको निर्णायक चरणमा रहेको उल्लेख गर्दै संगठनलाई विचार र सिद्धान्तमा स्पष्ट बनाउनु आवश्यक रहेको धारणा राखे। ज्ञवालीका अनुसार रास्वपाले छोटो समयमै उल्लेखनीय जनसमर्थन हासिल गरे पनि अब त्यसलाई स्थायी र संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्नुपर्ने चुनौती छ। उनले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय र समावेशितालाई आत्मसात गर्दै अघि बढ्न सुझाव दिए।
उनले राज्य ‘हुनेखाने मात्र होइन, गरी खाने जनताका लागि पनि हुनुपर्छ’ भन्ने अवधारणासहित उत्तरदायी राज्य निर्माणमा रास्वपाले भूमिका खेल्नुपर्ने बताए। साथै जनादेशको सही उपयोग भए लोकतन्त्र बलियो हुने तर गलत दिशामा प्रयोग भए जोखिम बढ्ने चेतावनी पनि दिए। भू–राजनीतिक सन्तुलनको सन्दर्भमा उनले नेपालले भारत र चीनसँगको सम्बन्धलाई ध्यानमा राख्दै राष्ट्रिय हित र स्वाधीनतालाई केन्द्रमा राखेर सन्तुलित कूटनीति अपनाउनुपर्ने आवश्यकता औंल्याए। ज्ञवालीले लोकतान्त्रिक संस्था, संसद, न्यायालय र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै काम गर्ने उत्साहसँगै सन्तुलन पनि आवश्यक हुने बताए। उनले रास्वपाले सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता व्यवहारमै देखाउनुपर्ने धारणा राखे। महाधिवेशन सफलताको शुभकामना दिँदै उनले यसले पार्टी मात्र नभई समग्र देश र जनताका लागि सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।
