काठमाडौँ । नेपालमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारसम्म कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी प्रदेशका अधिकांश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय भएको छ।
मनसुनी वायुको प्रभावका कारण सोमबार पूर्वदेखि गण्डकी प्रदेशसम्मका विभिन्न स्थानमा उल्लेख्य वर्षा भएको विभागले जनाएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार केही स्थानमा भारी वर्षासमेत मापन गरिएको छ। विभागको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा कास्कीमा ९८।२ मिलिमिटर र सुनसरीमा ८८।४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। यस्तै स्याङ्जा, लमजुङ, गोरखा, मकवानपुर, सिन्धुली, सङ्खुवासभा र ताप्लेजुङमा ५० देखि ६६ मिलिमिटरसम्म वर्षा भएको छ।
मौसमविद्हरूले कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा रातिको समयमा भारी वर्षा हुन सक्ने सम्भावना औँल्याएका छन्। साथै मंगलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव देखिन सक्ने तथा बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि गर्मी बढ्ने अनुमान गरिएको छ। मंगलबार हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ भने कोशी प्रदेशको तराईमा पनि बादल लाग्ने सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिमका अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान छ। हाल मनसुनी वायुका साथै पश्चिमी तथा स्थानीय वायुको मिश्रित प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भइरहेको छ। लमजुङ, स्याङ्जा, कास्की, चितवन, नवलपरासी पूर्वलगायत जिल्लामा वर्षा भइरहेको विभागले जनाएको छ।
