चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुटको प्रवृत्ति बढ्न थालेको भन्दै त्यसबाट सचेत रहन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।
मंगलबार सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र समूहगत राजनीति हावी भए रास्वपाले अपेक्षित परिवर्तन दिन नसक्ने बताए। फरक परिणाम चाहिने हो भने पुरानै शैली र अभ्यासबाट बाहिर निस्कनुपर्ने उनको भनाइ थियो। लामिछानेले महाधिवेशन प्रतिनिधिहरूलाई स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै कसैको प्रभाव वा दबाबमा परेर मतदान नगर्न सुझाव दिए। गलत उद्देश्यका साथ प्रतिनिधि चयन भएको भए त्यस्तो प्रवृत्तिलाई यहीँ रोक्नुपर्ने उनले बताए।
उनले कसैले महाधिवेशन प्रतिनिधि बन्न सहयोग गरेको भए त्यसका लागि धन्यवाद दिन सकिने तर मतदान भने योग्य र सक्षम उम्मेदवारलाई गर्नुपर्ने धारणा राखे। केन्द्रीय समितिमा पुग्ने नेतृत्व चयन गर्दा पार्टीको भविष्य र उद्देश्यलाई केन्द्रमा राख्न उनले आग्रह गरे। पार्टीभित्र केही अफवाह र अनावश्यक गतिविधि चलिरहेको आफूले सुनेको उल्लेख गर्दै लामिछानेले कसैले फलानो उम्मेदवारलाई भोट हाल्न वा नहाल्न दबाब दिने संस्कृति रास्वपाको मूल्य र मान्यताविपरीत हुने बताए। उनले प्रतिनिधिहरूलाई आफ्नो विवेक प्रयोग गरेर निर्णय लिन आग्रह गरे।
