काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आर्थिक गतिविधि र मानव अधिकार संरक्षणबीच सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
बुधबार आयोजित ‘व्यवसाय र मानव अधिकार’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले व्यवसाय सञ्चालन गर्ने वातावरण सुनिश्चित गरिनुका साथै नागरिकका मौलिक तथा मानव अधिकारको पूर्ण सम्मान हुनुपर्ने बताए। उनले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने प्राथमिक जिम्मेवारी राज्यको भएको उल्लेख गर्दै विकास र व्यवसायका गतिविधिका क्रममा कुनै पनि व्यक्तिको अधिकार हनन हुन नहुने धारणा राखे। यदि अधिकार उल्लंघनका घटना भएमा पीडितलाई प्रभावकारी न्याय र उपचार उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष मगरले विकास, व्यवसाय र मानव अधिकारलाई परस्पर विरोधी रूपमा नभई सन्तुलित ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले विशेषगरी आदिवासी जनजाति समुदायलगायत प्रभावित वर्गका अधिकारको सम्मान गर्दै विकास आयोजना सञ्चालन गर्नुपर्ने बताए। ‘विकास पनि आवश्यक छ, व्यवसाय पनि विस्तार हुनुपर्छ, तर त्यसका नाममा कुनै समुदाय वा नागरिकको संवैधानिक तथा मानव अधिकार प्रभावित हुनु हुँदैन,’ उनले भने।
मगरका अनुसार विभिन्न विकास आयोजना र पूर्वाधार निर्माणसँग सम्बन्धित विषयमा प्रभावित समुदायबाट आयोगमा नियमित रूपमा उजुरी आउने गरेका छन्। कतिपय उजुरीहरू स्थानीय बासिन्दाको भोगाधिकार, परम्परागत अभ्यास तथा सांस्कृतिक अधिकारसँग सम्बन्धित हुने गरेको उनले जानकारी दिए। उनले विद्युत् पूर्वाधार निर्माण तथा सञ्चालनमा हुने लापरवाहीका कारण नागरिकले ज्यान गुमाएका घटनाप्रति समेत गम्भीर चिन्ता व्यक्त गरे। कालीकोट र महोत्तरीमा भएका घटनाको उदाहरण दिँदै उनले सम्बन्धित निकायको जवाफदेहिता र सावधानी अपरिहार्य रहेको बताए।
‘व्यवसाय र विकासका काम अघि बढ्नुपर्छ, तर त्यसका कारण नागरिकको ज्यान जोखिममा पर्नु हुँदैन। भएका घटनाबाट पाठ सिकेर यस्ता समस्या दोहोरिन नदिने व्यवस्था आवश्यक छ,’ उनले भने। संवाद कार्यक्रमबाट व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्ने प्रभावकारी उपायबारे उपयोगी सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले मानव अधिकारमैत्री विकास र जिम्मेवार व्यवसायिक अभ्यास प्रवर्द्धनमा यसले योगदान पुर्याउने अपेक्षा गरे।
