भेनेजुएला। भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु भएर बुधबार शक्तिशाली दुईवटा भूकम्प गएपछि विश्वका विभिन्न मुलुकहरूले राहत, उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। यसबीच भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको घोषणा गर्ने अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेकी छन्।
भूकम्पका कारण भवन तथा भौतिक संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भइरहेका बेला विभिन्न देशहरूले मानवीय सहायता र उद्धार टोली परिचालन गर्ने तयारी गरेका हुन्। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले भेनेजुएली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उद्धारकर्मी र स्वास्थ्य क्षेत्रका विशेषज्ञहरू पठाउन तयारी भइरहेको जानकारी दिएकी छन्। रोड्रिगेजले मेक्सिकोको सहयोग प्रस्तावको स्वागत गर्दै आवश्यक समन्वयपछि सहायता स्वीकार गरिने बताएकी छन्।
त्यसैगरी, इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले मानवीय संकटमा राजनीतिक मतभेदभन्दा मानवता महत्वपूर्ण हुने उल्लेख गर्दै तत्काल सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। रोड्रिगेजले यस कदमलाई सकारात्मक र सहकार्यको उदाहरणका रूपमा व्याख्या गरेकी छन्। डोमिनिकन रिपब्लिकका राष्ट्रपति लुइस अबिनाडेरले कार्यवाहक राष्ट्रपति रोड्रिगेजसँग टेलिफोन संवाद गरी समवेदना व्यक्त गरेका छन्। उनले खोज तथा उद्धारका लागि विशेष टोली तथा आपतकालीन सेवा समूह भेनेजुएला पठाइने जानकारी दिएका छन्।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःस्थापना र राहतका क्षेत्रमा सहयोग गर्न ब्राजिल तयार रहेको बताएका छन्। उनले सम्भावित सहायता कार्यक्रमको मूल्यांकन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।यस्तै, एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले ३०० जना उद्धारकर्मी तथा स्वास्थ्यकर्मी र ५० टन राहत सामग्री भेनेजुएला पठाउन तयारी अवस्थामा राखिएको बताएका छन्। यसप्रति प्रतिक्रिया दिँदै रोड्रिगेजले आवश्यक समन्वय प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको उल्लेख गरेकी छन्।
संयुक्त राज्य अमेरिकाले पनि भूकम्प प्रभावित भेनेजुएली नागरिकप्रति ऐक्यबद्धता जनाएको छ। अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले आवश्यक मानवीय सहायता परिचालन भइरहेको जानकारी दिएका छन्। चिली, होन्डुरस र अर्जेन्टिनाले समेत भेनेजुएलालाई आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएका छन्। अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईको कार्यालयले जारी गरेको वक्तव्यमा प्राकृतिक विपत्तिका बेला राजनीतिक मतभेदभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
यसैबीच, कोलम्बियाका पूर्वराष्ट्रपति आल्भारो उरिबे भेलेजले सामाजिक सञ्जालमार्फत भेनेजुएली जनताप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेका छन्। भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान तीव्र बनाइएको भेनेजुएली अधिकारीहरूले बताएका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
