प्रारम्भिक बाल विकासमा लगानी बढाउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिने लगानीले समाज र राष्ट्रको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

कोसी प्रदेशको संरचनाभित्र प्रारम्भिक बाल विकाससम्बन्धी संवैधानिक अधिकार र दायित्वबारे आयोजित परामर्श कार्यक्रममा बोल्दै उनले बालबालिकाको गुणस्तरीय शिक्षा र समुचित हेरचाहले परिवारमा सकारात्मक वातावरण निर्माण हुने उल्लेख गरे। मुख्यमन्त्री कार्कीले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक क्षमताको विकासका लागि प्रारम्भिक बाल विकासलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न यस क्षेत्रमा गरिएको लगानी राष्ट्रकै समृद्धिसँग जोडिएको उनको भनाइ थियो।

उनले बाल अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच सुदृढ समन्वय आवश्यक रहेको औंल्याउँदै प्रारम्भिक बाल विकाससम्बन्धी कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। संघीय सांसदहरूको सहकार्य समन्वय समूहद्वारा आयोजित उक्त कार्यक्रममा प्रारम्भिक बाल विकास, बाल अधिकार संरक्षण, प्रारम्भिक शिक्षाको वर्तमान अवस्था तथा संवैधानिक व्यवस्थाको कार्यान्वयनका विषयमा विभिन्न सरोकारवालाबीच छलफल भएको थियो।

Back To Top
Modern Footer Design