काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा शुक्रबार पनि तातो हावाको प्रभाव कायम रहने जनाएको छ। विभागका अनुसार यी प्रदेशका केही स्थानमा लु चल्न सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका जिल्लामा पनि अत्यधिक गर्मी हट डे महसुस हुने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका अधिकांश भूभागमा तापक्रम उल्लेख्य रूपमा बढेको थियो। विशेषगरी कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा तातो हावाको लहर चलेको थियो। बिहीबार नेपालगञ्जमा सबैभन्दा धेरै ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको थियो। धनगढीमा ३९.८ डिग्री र भैरहवामा ३९.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको विभागले जनाएको छ।
त्यस्तै डडेलधुरा, डोटीको दिपायल, सुर्खेतको वीरेन्द्रनगर, जुम्ला, दाङको घोराही, कास्कीको पोखरा, बाराको सिमरा, चितवनको भरतपुर र काठमाडौंमा पनि ुहट डेु को अवस्था देखिएको थियो। विभागका तथ्यांकअनुसार दिपायलमा ३८.७, वीरेन्द्रनगरमा ३७.९, भरतपुरमा ३७.५, सिमरामा ३७, पोखरामा ३२.५, काठमाडौंमा ३१, जुम्लामा २९.५ तथा डडेलधुरामा २८.९ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको थियो।
