काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन लम्बिन पुगेपछि प्रतिनिधिसभाको बैठक फेरि प्रभावित भएको छ। महाधिवेशन नसकिएकै कारण बैठक दोस्रो पटक स्थगित गरिएको हो।
आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको छ। यसअघि पनि बैठकको मिति दुई पटक परिवर्तन भइसकेको थियो। आजको बैठकमा पाँच वटा महत्वपूर्ण विधेयकसँगै महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची थियो।
कार्यसूचीअनुसार प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने कार्यक्रम थियो। त्यस्तै सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावसहित उक्त विधेयक सदनमा पेस गर्ने तयारी थियो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम थियो भने भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने कार्यसूची थियो।
त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो। यसका साथै आर्थिक विधेयक, २०८३ माथि छलफल गरी पारित गर्ने तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल र निर्णय गर्ने कार्यसूची पनि आजको बैठकमा राखिएको थियो।
