लस एन्जलस। सहआयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलोपटक अन्तिम–१६ ९प्रिक्वार्टरफाइनल० मा स्थान बनाएको छ। लस एन्जलस रंगशालामा आइतबार बिहान भएको पहिलो नकआउट खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोल गर्न असफल रहे। खेल अतिरिक्त समयमा प्रवेश गरेपछि स्टेफेन युस्टाकियोले इन्जुरी समयमै निर्णायक गोल गर्दै क्यानडालाई ऐतिहासिक जित दिलाए। दक्षिण अफ्रिकाले खेलभर बलमा बढी नियन्त्रण राखे पनि अवसरलाई गोलमा परिणत गर्न सकेन। उत्कृष्ट प्रदर्शन गरेका युस्टाकियो खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।
विश्वकपमा तेस्रो सहभागिता जनाइरहेको क्यानडाले यसअघि दुवै संस्करणमा समूह चरण पार गर्न सकेको थिएन। यसपटक भने पहिलोपटक नकआउट चरण पार गर्दै अन्तिम–१६ मा पुग्न सफल भएको हो। यता, पहिलोपटक अन्तिम–१६ पुग्ने लक्ष्य बोकेको दक्षिण अफ्रिकाको यात्रा भने यही चरणमा टुंगिएको छ।
समूह ‘बी’को उपविजेताका रूपमा नकआउटमा पुगेको क्यानडाले अब अन्तिम–१६ मा मोरक्को र नेदरल्यान्ड्सबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
