काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको १०० दिनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकार अस्थिर र दिशाहीन देखिएको टिप्पणी गरेका छन्।
बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सरकारले गरेका कामको मूल्यांकन जनताले गरिरहेको बताए। पत्रकारहरूले सरकारको सय दिनको उपलब्धिबारे बारम्बार प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले त्यसको उत्तर जनताले देखिरहेको अवस्था नै भएको बताए। सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले सुकुम्बासी बस्तीमा डोजर चलाइएका घटना, विस्थापित भएका परिवार तथा रोइरहेका बालबालिकाका दृश्य सञ्चारमाध्यममै सार्वजनिक भइरहेको उल्लेख गरे। यस्ता घटनाले सरकारको व्यवहार स्पष्ट रूपमा देखाएको उनको भनाइ थियो।
देशको समग्र अवस्थाप्रति टिप्पणी गर्दै ओलीले अहिले नागरिकले खुसी हुने अवसर नै कम रहेको बताए। उनले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेरेर केही समय मनोरञ्जन लिनुबाहेक अन्यत्र खुसी हुने वातावरण नरहेको टिप्पणी गरे। सरकारको अवस्थालाई उदाहरणसहित व्याख्या गर्दै ओलीले ‘उम्लिएको दूध’सँग तुलना गरे। उनका अनुसार सानो परिमाणको दूध ठूलो भाँडामा उम्लिँदा भाँडा भरिएको जस्तो देखिए पनि त्यो वास्तविक स्थिर अवस्था नभई क्षणिक उफ्रिएको अवस्था मात्र हुन्छ। “अहिले सरकार पनि त्यस्तै अवस्थामा छ। खुट्टा जमिनमा छैनन्, केवल उम्लिएको दूधझैँ बाहिर फैलिएको जस्तो देखिन्छ,” उनले भने।
ओलीले सरकारका सय दिनका गतिविधि पनि यस्तै अस्थिर र अपरिपक्व देखिएको दाबी गरे। कार्यक्रममा उनले एमालेको भविष्यबारे उठ्ने टिप्पणीको पनि प्रतिवाद गरे। एमाले समाप्त हुने पार्टी नभई देश निर्माण, विकास र सफलताका लागि स्थापित राजनीतिक शक्ति भएको उनको भनाइ थियो। “एमाले सकियो भन्नेहरू धेरै छन्, तर एमाले सकिनका लागि होइन, अझ बलियो बन्न र देश निर्माणमा योगदान दिन जन्मिएको पार्टी हो,” उनले भने। उनले एमालेले विगतमा अनेक चुनौती पार गर्दै अघि बढेको स्मरण गराउँदै पार्टी कठिन परिस्थितिमा पनि विचलित नहुने र सफलता प्राप्त हुँदा पनि अहंकारी नबन्ने बताए।
