मनसुन सक्रिय, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले आज पनि धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा औसत अवस्थामै रहेको छ भने पूर्वतर्फ भने सामान्यभन्दा केही उत्तर सरेको छ। हाल सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बदली रहेको छ भने देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने सम्भावना छ। पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही भागमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। साथै, पहाडी क्षेत्रका धेरै स्थान र तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ। केही स्थानमा भारी तथा अत्यधिक वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, भू–क्षय तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ।

महाशाखाले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचनाको नियमित जानकारी लिन अनुरोध गरेको छ।

Back To Top
Modern Footer Design