ललितपुरको ग्वार्कोमा बस दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बिहान करिब १०:३० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बा २ ख ३५९० नम्बरको बस फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा करिब ४० वर्षीया एक महिला यात्रुको मृत्यु भएको हो। मृतकको पहिचान भने हालसम्म खुल्न सकेको छैन। दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि बि एण्ड बी अस्पताल लगिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जना पुरुष र ४ जना महिला रहेका छन्। उनीहरूको उपचार भइरहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बस तीव्र गतिका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ। उनका अनुसार तीव्र गतिमा रहेको बस अनियन्त्रित भई फ्लाइओभरको भित्तामा ठोक्किएको देखिएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Back To Top
Modern Footer Design