मनसुन सक्रिय, देशभर वर्षाको सम्भावना: बाढी–पहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह

काठमाडौ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले शुक्रबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सामान्यभन्दा केही उत्तरतर्फ रहेको छ। यसको प्रभावका कारण देशका धेरैजसो स्थानमा बदलीको अवस्था कायम छ। अहिले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागसँगै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, कर्णाली तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने अनुमान छ। तराईका केही जिल्लामा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि मौसमको यही अवस्था कायम रहने महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा वर्षा वा हिमपात हुन सक्ने तथा तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो र भूक्षयको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउँदै सुरक्षित रहन महाशाखाले अनुरोध गरेको छ।

Back To Top
Modern Footer Design