आज प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक र एक समितिको प्रतिवेदन प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा सरकारका तर्फबाट चार वटा महत्वपूर्ण विधेयक पेस गरिनुका साथै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पनि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ बैठकमा पेस गर्नेछन्। त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३ महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ तथा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक २०८३ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ।

यता, प्रतिनिधिसभाको बैठकसँगै आज बिहान १० बजे संसद्का तीन विषयगत समितिका बैठक पनि बस्नेछन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गर्नेछ। कानुन, न्याय तथा मानव अधिकार समितिमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा तथा कैदीबन्दीको मानव अधिकार अवस्थाबारे तयार पारिएको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसैगरी, पूर्वाधार विकास समितिले विद्युत् वितरण लाइन र पोल समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा देखिएको ढिलाइका विषयमा सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची तय गरेको छ।

Back To Top
Modern Footer Design