काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सूचना जारी गर्दै ग्यासको कालोबजारी र उपभोक्ता ठगीका घटनाप्रति सरकार गम्भीर रहेको जनाएको हो। विभागका अनुसार पछिल्ला दिनमा ग्यास सहज रूपमा नपाएको, केही डिपो तथा विक्रेताले ग्यास लुकाएर निश्चित व्यक्ति वा व्यवसायीलाई मात्रै उपलब्ध गराएको तथा बढी मूल्य लिएको गुनासो बढेपछि बजार अनुगमनलाई तीव्र बनाइएको छ।
विभागले एलपी ग्यास उपभोक्ताले तोकिएको मूल्यमा सहज रूपमा पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै कानुनविपरीत कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा बढी मूल्य असुल्ने जोसुकैलाई पनि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ। यस्ता गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल–फ्री नम्बर ११३७ मा उजुरी दिन पनि उपभोक्तालाई आग्रह गरिएको छ। विभागले हाल ७.१ किलोका सिलिन्डरको सट्टा १४.२ किलोका ग्यास सिलिन्डर वितरण गर्ने प्रक्रियाका कारण केही समय बजारमा वितरण व्यवस्थापनमा असहजता देखिएको पनि जनाएको छ।
