काठमाडौँ । नेपाली सेनामा भर्ती गराइदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले कञ्चनपुरका एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ का ३५ वर्षीय हरिश चन्द रहेका छन्। प्रहरीका अनुसार चन्दले नेपाली सेनामा जागिर लगाइदिने आश्वासन दिँदै एक व्यक्तिबाट २ लाख ४० हजार रुपैयाँ लिएको आरोप छ।
रकम लिएपछि प्रतिबद्धताअनुसार काम नगरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए। उजुरी परेपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका चन्दलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कैलालीबाट म्याद थपको अनुमति लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
