पेरिस । फ्रान्समा पछिल्लो केही दिनयता विद्यालयका विद्यार्थीहरू विभिन्न माग राख्दै सडकमा उत्रिएका छन्।
प्रदर्शनका कारण देशका सयौँ शैक्षिक संस्था प्रभावित भएका छन् भने केही विद्यालयका प्रवेशद्वारसमेत विद्यार्थीले अवरुद्ध गरेका छन्। कतिपय स्थानमा प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रयोग गरेका छन्। केही ठाउँमा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको बताइएको छ।
सरकारले विद्यार्थीले उठाएका केही मागलाई जायज माने पनि हिंसात्मक गतिविधिलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ। सरकारले वामपन्थी राजनीतिक समूहहरूले आन्दोलनलाई उक्साएको आरोप लगाएको छ। विपक्षी दलहरूले भने सरकारको उक्त आरोप अस्वीकार गरेका छन्। गृह मन्त्रालयका अनुसार सोमबारदेखि अहिलेसम्म ५ हजारभन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन्। शिक्षा मन्त्रालयले शुक्रबार मात्रै करिब ७३५ शैक्षिक संस्था प्रदर्शनका कारण प्रभावित भएको जनाएको छ। आगामी मंगलबार थप ठूलो प्रदर्शनको तयारी भइरहेको बताइएको छ।
के माग राखेका छन् विद्यार्थीले ?
प्रदर्शनमा मुख्य रूपमा १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी सहभागी छन्। उनीहरूले विद्यालयमा पर्याप्त शिक्षकको व्यवस्था गर्नुपर्ने, कक्षाकोठाको अवस्था सुधार गर्नुपर्ने, अत्यधिक अध्ययनको बोझ घटाउनुपर्ने तथा विद्यालयको लामो समयलाई पुनरावलोकन गर्नुपर्ने माग अघि सारेका छन्। समाजशास्त्री भ्यालेरि बेक्केका अनुसार आन्दोलनमा विशेषगरी न्यून आय भएका परिवारका विद्यार्थीको असन्तुष्टि पनि जोडिएको छ। समान अवसरको दाबी गरिए पनि व्यवहारमा सबै विद्यार्थीले समान गुणस्तरको शिक्षा पाउन नसकेको उनीहरूको गुनासो छ।
सामाजिक सञ्जालले आन्दोलन फैलायो
सेप्टेम्बर १७ मा पेरिसनजिकैको एउटा विद्यालयबाट सुरु भएको प्रदर्शन एक सातामै फ्रान्सका विभिन्न क्षेत्रमा फैलिएको बताइएको छ। सुरुमा शिक्षक अभाव र विद्यालयमा स्रोतसाधनको कमीका विषयमा केन्द्रित आन्दोलन विस्तार हुँदै अन्य शैक्षिक तथा सामाजिक विषयसमेत जोडिन पुगेको छ। विद्यार्थीहरूले प्रदर्शनका क्रममा खिचिएका भिडियो तथा अन्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन्। ती सामग्री तीव्र रूपमा फैलिँदा आन्दोलनको प्रभाव विभिन्न क्षेत्रमा विस्तार भएको बताइएको छ।
शिक्षामा असमानताको प्रश्न
फ्रान्समा सबै विद्यार्थीका लागि माध्यमिक शिक्षाको पहुँच भए पनि विद्यालयअनुसार सुविधा र शिक्षाको स्तरमा फरक रहेको समाजशास्त्रीहरूको भनाइ छ। आर्थिक रूपमा कमजोर परिवारबाट आएका विद्यार्थीले तुलनात्मक रूपमा बढी चुनौती सामना गर्नुपरेको उनीहरूको तर्क छ। यही असमानता र विद्यालयमा उपलब्ध स्रोतसाधनको विषय पनि पछिल्लो विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण मुद्दा बनेको छ।
प्रहरी कारबाहीमाथि पनि प्रश्न
प्रदर्शनका क्रममा केही विद्यार्थीले विद्यालयका प्रवेशद्वार बन्द गर्नुका साथै प्रहरीतर्फ वस्तु फ्याँक्ने र केही स्थानमा सामानमा आगजनी गर्ने गतिविधि गरेको बताइएको छ। प्रहरीले आन्दोलन नियन्त्रण गर्ने क्रममा अश्रुग्यास, रबरका गोली तथा लाठी प्रयोग गरेको जनाएको छ। बुधबार मध्य फ्रान्सको टुर सहरमा विद्यार्थी र प्रहरीबीच भएको झडपमा एक युवकको आँखामा चोट लागेको स्थानीय अभियोजनकर्ताले बताएका छन्। प्रहरी कारबाहीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न भिडियो सार्वजनिक भएपछि सुरक्षाकर्मीको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ। यद्यपि, प्रदर्शनका क्रममा केही प्रहरीमाथि पनि आक्रमण भएको अधिकारीहरूले बताएका छन्।
