पश्चिमी वायुको प्रभाव कायमै, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज शुक्रबार केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ। लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने सम्भावना छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

आज हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि हिमाली क्षेत्रमा सामान्यतया र पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै यात्रा तथा बाहिरी गतिविधि गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

Back To Top
Modern Footer Design