गण्डकीसँग ५–० ले पराजित हुँदै कर्णाली लिग चरणबाटै बाहिरियो

काठमाडौँ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा आयोजक कर्णाली प्रदेशको यात्रा लिग चरणमै टुङ्गिएको छ । बिहीबार भएको खेलमा गण्डकी प्रदेशसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएपछि कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको हो ।

घरेलु मैदानमा समर्थकको साथ पाए पनि कर्णालीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । जित्नैपर्ने दबाबमा मैदान उत्रिएको टोलीले गण्डकीको आक्रमण रोक्न नसक्दा ठूलो अन्तरको हार बेहोर्नुपर्‍यो ।

खेलमा गण्डकीले सुरुवातदेखि नै आफ्नो पकड जमाएको थियो । पहिलो हाफको १६औँ मिनेटमा लछु थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि आशिष गुरुङले २५औँ र ३३औँ मिनेटमा लगातार दुई गोल थपेपछि गण्डकी ३–० ले अघि बढ्यो ।

दोस्रो हाफमा पनि गण्डकीको आक्रामक खेल जारी रह्यो । खेलको ५७औँ मिनेटमा सुदीप गुरुङले चौथो गोल गरे भने थपिएको चार मिनेटको समयमा टेगराज गुरुङले अर्को गोल थपे । यससँगै गण्डकीले ५–० को प्रभावशाली जित निकालेको हो ।

खेलका क्रममा गण्डकीका रन्दीप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएका थिए ।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोलले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै टोली लिग चरणबाटै बाहिरिएको छ ।

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबार दिउँसो २ः३० बजे हुने खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

Back To Top
Modern Footer Design