बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाइमा घरमै सुतिरहेकी एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति करिब १ः३० बजे ३६ वर्षीया ठुमरा विष्टमाथि अज्ञात व्यक्तिले आक्रमण गरेका हुन्। घरको कोठामा सुतिरहेकी उनलाई भान्सातर्फ बोलाई घाँटीको बायाँ भागमा चक्कु प्रहार गरिएको बताइएको छ। घटनापछि प्रहरीको सहयोगमा घाइतेलाई कोल्टी आधारभूत अस्पताल पुर्याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको छ। चिकित्सकका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ। प्रहरीले आक्रमणकारीको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान तथा खोजी कार्य जारी रहेको जनाएको छ।
