चीन। उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रअन्तर्गत पर्ने इली नदी उपत्यकामा वार्षिक रूपमा सञ्चालन हुने बाख्रा डुबाउने अभियान सुरु भएको छ।
गर्मी याममा पशुहरूलाई स्वस्थ राख्ने उद्देश्यले एक महिनासम्म सञ्चालन हुने यस अभियानअन्तर्गत लाखौं बाख्रा तथा गाईवस्तुलाई विशेष औषधीय पानीमा डुबाइने गरिन्छ। स्थानीय प्रशासनका अनुसार गोङ्लिउ र टेक्स काउन्टीमा हालसम्म ११ लाख ५० हजारभन्दा बढी बाख्रालाई नुहाइसकिएको छ। यस प्रक्रियाले परजीवी तथा विभिन्न कीटाणु नष्ट गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
चरन क्षेत्रमा पठाउनुअघि पशुहरूलाई आवश्यक खोपसमेत लगाइएको छ। किसानहरूका अनुसार बाख्रालाई पानीमा डुबाउँदा रोगको जोखिम कम हुनुका साथै शरीर सफा रहने र ऊनको गुणस्तरमा समेत सुधार आउने गर्छ। इली नदी उपत्यकाभर सञ्चालन भइरहेको यो पशु स्वास्थ्य तथा रोग नियन्त्रण अभियान आगामी जुलाई १० सम्म जारी रहने जनाइएको छ।
