काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिन थालेको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेको छ भने अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावका कारण अहिले देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम अधिकांश समय सफा रहनेछ।
देशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था कायम रहने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहनेछ। मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।
