श्रीमतीको हत्या आरोपमा फरार रहेका श्रीमान् रौतहटबाट पक्राउ

रौतहट । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति फतुवा विजयपुर नगरपालिका–६, पेटभर्वा टोलका ४२ वर्षीय महन्थ राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार यादवले गत जेठ ३ गते घरमै रहेको सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवमाथि बन्चरो प्रहार गरी हत्या गरेका थिए। घटनापछि उनी फरार भएका थिए। हत्या घटनालगत्तै प्रहरीले उनको खोजी अभियान सुरु गरेको थियो। विभिन्न स्थानमा खोजतलास गर्नुका साथै प्राविधिक माध्यमबाट समेत निगरानी बढाइएको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट खटिएको संयुक्त टोलीले उनलाई फतुवा विजयपुर नगरपालिका–८, विजयपुर क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका यादवमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

Back To Top
Modern Footer Design