काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत जनशक्तिको योग्यता र तालिमका मापदण्डलाई थप कडा बनाउनुपर्ने बताएका छन्।
बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले आवश्यक दक्ष जनशक्ति तत्काल उपलब्ध नभए अस्थायी व्यवस्था गर्दै योग्य जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए। उनका अनुसार सम्बन्धित व्यक्तिलाई अध्ययन र विशेष तालिमको अवसर पनि सुनिश्चित गरिनुपर्छ। उनले फरेन्सिक विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातकोत्तर मास्टर्स हुनुपर्ने धारणा राखे। विगतको शैक्षिक अवस्था र वर्तमान आवश्यकताबीच ठूलो अन्तर आइसकेकाले समयअनुसार योग्यता र मापदण्ड परिमार्जन गर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री पुनले फरेन्सिकसम्बन्धी तालिमका विषयमा पनि स्पष्ट व्यवस्था आवश्यक रहेको बताए। उनका अनुसार जुनसुकै सामान्य तालिमलाई मान्यता दिनुभन्दा प्रमाणित संस्था वा मान्यता प्राप्त विश्वविद्यालयबाट हासिल गरेको तालिमलाई मात्र आधिकारिक रूपमा स्वीकार गर्नुपर्छ। उनले भने, ‘तालिमको मापदण्ड स्पष्ट हुनुपर्छ। मान्यता प्राप्त संस्था वा विश्वविद्यालयबाट प्राप्त तालिमलाई मात्रै मान्यता दिने व्यवस्था गरिनुपर्छ।’ यसैगरी, उनले विधेयकमा रासायनिक, भौतिक र जैविक प्रमाणसँगै विद्युतीय (डिजिटल) प्रमाणलाई पनि स्पष्ट रूपमा समेट्नुपर्ने आवश्यकता औंल्याए। पछिल्लो समय अपराध अनुसन्धानमा डिजिटल प्रमाणको भूमिका बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई कानुनी रूपमा स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिए।
