एम्बाप्पेको निर्णायक गोलमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा

अमेरिका । कप्तान किलियन एम्बाप्पेको दोस्रो हाफको निर्णायक गोलको मद्दतमा फ्रान्सले पाराग्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको फिलाडेल्फियास्थित स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम १६ को प्रतिस्पर्धामा फ्रान्सले पाराग्वेमाथि १–० को कठिन जित निकाल्दै उपाधि यात्रालाई निरन्तरता दिएको हो। पहिलो हाफमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। दोस्रो हाफमा भने फ्रान्सले खेलमाथि पकड जमाउँदै निर्णायक अवसर सिर्जना गर्‍यो।

खेलको ७०औँ मिनेटमा डिजायर डुएलाई पेनाल्टी क्षेत्रभित्र लडाइएपछि फ्रान्सले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई कप्तान एम्बाप्पेले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए, जुन अन्ततः जितका लागि पर्याप्त बन्यो। यस गोलसँगै एम्बाप्पेको जारी विश्वकपमा व्यक्तिगत गोल संख्या सात पुगेको छ। उनी अर्जेन्टिनाका लियोनल मेसीसँग संयुक्त रूपमा प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका छन्। साथै, विश्वकप इतिहासमा मेसीको २० गोलको कीर्तिमानसँग उनी अब केवल एक गोलले मात्र पछाडि छन्। फ्रान्सले अब सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा अर्को चुनौतीपूर्ण प्रतिस्पर्धा खेल्नेछ।

Back To Top
Modern Footer Design