काठमाडौं ।आज साउन १ गते साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर धार्मिक श्रद्धा र परम्पराअनुसार मनाइँदै छ। सौर पात्रोअनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने चलन रहिआएको छ।
धार्मिक मान्यताअनुसार आजदेखि सूर्यको दक्षिणायन सुरु हुने विश्वास गरिन्छ। माघ १ गतेबाट आरम्भ हुने उत्तरायण र साउन १ गतेबाट सुरु हुने दक्षिणायन वैदिक सनातन परम्परामा विशेष महत्वका रूपमा लिइन्छ। साउने सङ्क्रान्तिसँगै नेपाली समाजमा ‘लुतो फाल्ने’ परम्परासमेत मनाउने चलन छ। असार महिनाभर खेतबारीमा काम गर्दा लाग्न सक्ने छालासम्बन्धी रोगबाट बच्ने विश्वासका साथ यो परम्परा निभाइने गरिएको हो। संस्कृतिविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यो अभ्यास लोकविश्वास, स्वास्थ्य चेतना र सांस्कृतिक परम्परासँग जोडिएको छ।
परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी ‘कण्डारक’ नामक राक्षसको पूजा गर्ने तथा अगुल्टो फाल्ने चलन छ। केही स्थानमा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र घरको ढोका बन्द गर्ने परम्परा पनि अझै कायम छ। साउन महिनालाई भगवान् शिवको आराधनाका लागि विशेष महत्वको महिना मानिन्छ। यस अवधिभर विशेषगरी सोमबारका दिन देशभरका शिवालयमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। महिलाले हरियो चुरा, हरिया पहिरन र मेहन्दी लगाएर हरियाली, समृद्धि र शुभताको प्रतीकस्वरूप साउने पर्व मनाउने परम्परा पनि रहिआएको छ। साउने सङ्क्रान्तिको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा दर्शन र पूजाआराधनाका लागि भक्तजनको घुइँचो लागेको छ।
