‘म हिन्दु हुँ, तर सबै धर्मको सम्मान गर्छु’: देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु धर्मावलम्बी भए पनि नेपालमा सबै धर्मको संरक्षण र धार्मिक स्वतन्त्रता हुनुपर्ने बताएका छन्।

कांग्रेस इतर समूहको आयोजनामा काठमाडौंको सुकेधारास्थित एक होटलमा जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले आफू हिन्दु संस्कारअनुसार हुर्किएको र धार्मिक आस्थाका विषयमा स्पष्ट रहेको बताएका हुन्। ‘म हिन्दु हुँ। व्रतबन्ध पनि हिन्दु संस्कारअनुसार भएको हो। बहिनीको विवाह पनि हिन्दु संस्कारअनुसार भएको हो। मैले विवाह पनि गुह्येश्वरीमा हिन्दु धर्मअनुसार गरेको हुँ,’ उनले भने।

देउवाले आफू पशुपतिनाथ जाने र पूजा गर्ने गरेको उल्लेख गर्दै नेपालमा धार्मिक स्वतन्त्रता कायम हुनुपर्ने धारणा राखे। ‘म हिन्दु हुँ, हिन्दु। पशुपति जान्छु, पूजा गर्छु। बुद्धप्रति पनि मेरो माया छ। संसारले बुद्धलाई मानेको छ, वैज्ञानिक धर्म पनि भनेको छ,’ देउवाले भने। कांग्रेस इतर समूहको राष्ट्रिय भेला गत शुक्रबारदेखि सुरु भएको हो। करिब साढे पाँच महिनापछि गत बिहीबार स्वदेश फर्किएका देउवालाई कांग्रेस इतर समूहका शीर्ष नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका थिए।

Back To Top
Modern Footer Design