काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३५९ पुगेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ४ हजार ३४८ जना प्रहरी कर्मचारी परिचालन गरेको जनाएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। प्रभावित विभिन्न जिल्लामा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
हालसम्म फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १३२ जनाको रहेको छ। त्यस्तै, नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको छ। बाढीमा परी घाइते भएका ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३१ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २२ जना उपचाररत छन्। यस्तै, वीर अस्पताल र नर्भिक अस्पतालमा दुई–दुई जना, मनमोहन अस्पतालमा दुई जना तथा ग्राण्डी अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्रिन सिटी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा एक–एक जना घाइतेको उपचार भइरहेको छ। प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत व्यवस्थापनलाई निरन्तरता दिइरहेको जनाएको छ।
