काठमाडौँ । नेपाल सरकारले बाढी तथा विपद्का क्रममा प्रभावित भएका नागरिकको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा बाढीपछि पहिचान हुन नसकेका पीडितको पहिचानका लागि सिंगापुरसँग आवश्यक प्राविधिक सहयोग माग गरिएको जानकारी दिए। उनका अनुसार नेपालले संयुक्त राज्य अमेरिकासँग डीएनए परीक्षणका लागि सहयोग तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ। जापान र दक्षिण कोरियाबाट समेत आवश्यक विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
बाढीपछि नेपाललाई भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरियालगायत विभिन्न देश तथा अन्तर्राष्ट्रिय साझेदारबाट उद्धार तथा राहत सामग्री प्राप्त भइरहेको क्षेत्रीले बताए। उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न र औषधिलगायत सामग्री सहयोगस्वरूप प्राप्त भएको मन्त्रालयले जनाएको छ। भारतबाट विशेष उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको तथा दक्षिण कोरियाको टोली पनि उद्धार कार्यमा खटिएको क्षेत्रीले जानकारी दिए। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफबाट पनि थप सहयोग तथा सामग्री आउने क्रममा रहेको उनले बताए।
परराष्ट्र मन्त्रालयका अनुसार विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणमा पनि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्नेछ। बाढीबाट भएको क्षतिको मूल्यांकनका आधारमा घर, सडक, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाको पुनःस्थापनाका लागि आवश्यक स्रोत निर्धारण गरिनेछ। मन्त्रालयले विपद्पछिको उद्धार र राहतसँगै प्रभावित तथा मृतक नागरिकको पहिचानलाई पनि प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास भइरहेको जनाएको छ।
