काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई बलियो बनाउन संसद् र राजनीतिक दलभित्र खुला संवादको वातावरण आवश्यक रहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले जनताका प्रश्न, असहमति र विचार राख्ने ठाउँ साँघुरिँदै गएकाले देशभर खुला संवादका थलो आवश्यक रहेको धारणा राखे। दश वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना भएको प्रसंग उल्लेख गर्दै उनले खुलामञ्च काठमाडौंको एउटा चौर मात्र नभएको बताए। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले यही स्थानबाट विभिन्न राजनीतिक दल र नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको बताए।
थापाले बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत नेताले समेत खुलामञ्चबाट जनतालाई सम्बोधन गरेको स्मरण गरे। उनका अनुसार खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर प्रदान गर्दै आएको छ। उनले यस्ता खुला संवादका थलो देशका विभिन्न क्षेत्रमा आवश्यक रहेको बताए। त्यसको सुरुवात भने सिंहदरबार र संसद्बाटै हुनुपर्ने उनको भनाइ थियो।
संसद् जनताको आवाज र प्रश्न राख्ने प्रमुख थलो भएकाले त्यहाँ जनताका प्रश्नको सामना गर्ने र जवाफ दिने वातावरण हुनुपर्ने थापाले बताए। सत्तामा रहेका व्यक्तिले नागरिकका कुरा सुन्ने र उनीहरूसँग निरन्तर संवाद गर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिए। थापाले पहाडदेखि तराईसम्म तथा प्रत्यक्ष भेटघाटदेखि विद्युतीय माध्यमसम्म नागरिकले आफ्ना विचार राख्न सक्ने वातावरण बनाउनुपर्ने बताए। जनताले नेतृत्वलाई प्रश्न गर्न र आफ्ना असहमति व्यक्त गर्न पाउने अधिकार लोकतन्त्रको आधार भएको उनको भनाइ थियो।
पार्टीभित्र पनि यही संस्कार स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले नेतृत्वमाथि प्रश्न उठाएकै कारण पार्टी सदस्यता गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताए। फरक मत राख्ने, आलोचना गर्ने र नेतृत्वसँग प्रश्न गर्ने अधिकारलाई पार्टीको आन्तरिक लोकतन्त्रकै हिस्सा बनाउनुपर्ने उनले उल्लेख गरे। थापाले लोकतन्त्रको अभ्यास राज्यमा मात्र नभई राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैलीमा समेत देखिनुपर्ने बताए। उनका अनुसार संसद् र पार्टीभित्र खुलापन कायम भए मात्रै जनतासँगको सम्बन्ध थप बलियो बनाउन सकिन्छ। दश वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन हुनु खुला संवाद र नागरिकसँगको सम्बन्धलाई पुनः जोड्ने अवसर भएको बताउँदै थापाले खुलामञ्चलाई राजनीतिक सभा गर्ने स्थल मात्र नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदान गर्ने साझा थलोका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
