काठमाडौं । गोरखामा बुढीगण्डकी नदीमा आएको भीषण बाढीपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको छ। आइतबार बिहान आएको बाढीबाट चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका नदी किनारका बस्ती प्रभावित भएका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रभावित क्षेत्रमा स्थल र हवाईमार्गबाट सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा खोजी कार्य अघि बढाइएको छ। चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको क्षेत्रमा हिमपहिरो गएपछि बुढीगण्डकी नदीको बहाव अवरुद्ध भएको थियो। सिरिङ्गे हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला र बुढीगण्डकी नदीमा पानी थुनिएर बनेको प्राकृतिक बाँध फुटेपछि बाढी आएको बताइएको छ।
बाढीले लेदो र ढुंगामाटोसहितको गेग्रान बगाउँदा दुईवटा पक्की पुल तथा केही घरमा क्षति पुगेको छ। बाढी र पहिरोको जोखिममा रहेका गोरखाको जगत क्षेत्रबाट नेपाली सेनाले ६ जनालाई हवाई उद्धार गरेको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत परिचालन गरिएको सेनाले जनाएको छ। यसैबीच, नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान सेनाले आग्रह गरेको छ।
