काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आसिमा लामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउँदै सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सुझाव दिएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे सरकारसँग स्पष्ट जानकारी माग गरिन्। लामो समयदेखि समाधान हुन नसकेको सुस्ता समस्या गण्डकी नदीको धार परिवर्तनसँग जोडिएको उनले उल्लेख गरिन्। उनले भारतीय सशस्त्र सीमा बल (एसएसबी)का गतिविधि र स्थानीयलाई धम्क्याएको भन्ने समाचारप्रति सरकारको धारणा माग गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न आग्रह गरिन्।
सांसद तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता क्षेत्र नेपालको भौगोलिक अखण्डतासँग सम्बन्धित संवेदनशील विषय भएको बताउँदै सीमा सुरक्षा राज्यको प्रमुख जिम्मेवारी भएको धारणा राखिन्। उनका अनुसार आवश्यक परे नेपाल–भारत सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने विकल्पसमेत विचार गर्नुपर्ने आवश्यकता छ।
